एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ ।
बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।
निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप्त रह्यो ।
चोटका कारण लिभरपुल समस्यामा देखिएको थियो । मुख्य डिफेन्डर भर्जिल भान डिजिक बिनै लिभरपुल मैदान उत्रिएको थियो । तर लिभरपुलले अजाक्सविरुद्ध क्लिन सिट निकाल्न सफल बन्यो ।

साडियो मानेको क्रसलाई विफल बनाउन खोज्दा ट्यागलियाफिकोले आत्मघाति गोल गर्न पुगे ।
लिभरपुलले समूह चरणको खेलमा एटलान्टा र मिडजिलेन्डसंग प्रतिस्पर्धा गर्नेछ ।
समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै एटलान्टा र लिभरपुलले समान ३ अंक जोडे । अजाक्स र मिडजिलेनड भने अंक विहिन रहे ।