एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा रोमाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रोमाले बेनेभेन्टोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
रोमाको घरेलु मैदानमा सुरुवाती अग्रता भने बेनेभेन्टोले बनाएको थियो ।
खेलको पाँचौ मिनेटमा जियानलुका काप्रारीले गोल गर्दै बेनेभेन्टोलाई अग्रता दिलाएका थिए ।
तर, ३१ औं मिनेटमा पेड्रो रोड्रिगेजले गोल गर्दै रोमालाई खेलमा फर्काए ।
३५ औं मिनेटमा इडेन डेज्कोले गोल गर्दा रोमाले पहिलो हाफमा २-१ को अग्रता बनायो ।

खेलको ५५ औं मिनेटमा बेनेभेन्टोका जियानलुका लापाडुलाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
६९ औं मिनेटमा जोर्डनले पेनाल्टीमा गोल गर्दै रोमालाई ३-२ को अग्रता दिलाए । ७७ औं मिनेटमा डेज्कोले व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाको अग्रता ४-२ को बन्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा कार्लेस परेजले गोल गर्दै रोमालाई ५-२ को जित दिलाए ।
जितसँगै रोमाले ४ खेलमा ७ अंक जोडेको छ । यस सिजन दोस्रो जित निकालेको रोमा सातौं स्थानमा रहेको छ ।
बेनेभेन्टो ४ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।