एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) साविक विजेता युभेन्ट्सले क्रोटोनसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले नव प्रवेशी क्लब क्रोटोनसँग उसैको मैदानमा खेल्नेछ । युभेन्ट्स र क्रोटोनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
क्रोटोनको मैदानमा युभेन्ट्स तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । युभेन्ट्स ३ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
तर, क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रने युभेन्ट्सलाई जित निकाल्न सहज भने हुने छैन । कोरोना संक्रमणको कारण रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् ।
क्रोटोन भने पहिलो जितको खोजीमा हुनेछ । क्रोटोन घरेलु मैदानमा युभेन्ट्सलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।
क्रोटोन ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै मिलान डर्बीमा इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ ।
मिलान डर्बी इन्टरको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।
इन्टर यस सिजन ३ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अपराजित मिलान भने ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै शीर्ष स्थानको एटलान्टाले नापोलीसँग उसैको मैदानमा खेल्नेछ ।
नापोलीलाई हराएर एटलान्टा शीर्ष स्थान कायम राख्न चाहन्छ । एटलान्टाले ३ खेलमा ९ अंक जोडेको छ । ५ अंक जोडेको नापोली आठौं स्थानमा रहेको छ ।