एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका विंगर भिक्टर मोसेस रसियन क्लब स्पार्टक मस्कोमा अनुबन्धित भएका छन् ।
मस्कोले मोसेसलाई चेल्सीबाट एक सिजनको लागि लोनमा अनुबन्धित गरेको हो ।
चेल्सीले नाइजेरियन विंगरलाई मस्कोमा लोनमा पठाईएको जनाएको छ ।
यस सिजन मस्को १० खेल खेल्दा तालिकाको दोस्रो स्थानमा रहेको छ ।
विगन एथ्लेटिक्सबाट सन् २०१२ मा चेल्सी आएका मोसेसले पछिल्लो अधिकांस समय लोनमा खेल्दै आएका छन् ।
२९ वर्षीय मोसेसले गत सिजन दुई क्लबबाट लोनमा खेलेका थिए ।

सन् २०१९ को जनवरीमा टर्किस क्लब फेनरवाचेमा अनुबन्धित भएका उनले २३ खेलमा ५ गोल गरेका थिए ।
त्यसपछि उनी इटालियन क्लब इन्टर मिलान आएका थिए ।
त्यसअघि उनले लिभरपुल, स्टोक सिटी र वेस्ट ह्यामबाट लोनमा खेलिसकेका छन् ।
चेल्सीका लागि मोसेसले १ सय २८ खेलमा १८ गोल गरेका छन् । चेल्सीबाट उनले प्रिमियर लिग र एफए कप जितेका छन् ।
सन् २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले नाइजेरियाका लागि ३८ खेलमा १२ गोल गरेका छन् ।