एजेन्सी । भारतको आईलिग छनोटमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल सम्मिलित मोहम्मेडन स्पोर्टिङ क्लबले आज (शुक्रबार) भवानीपुर एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
कल्याणी रंगशालामा अभिषेक सम्मिलित मोहम्मेडनले भवानीपुरसँग खेल्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझ पौने ५ बजे सुरु हुनेछ ।
कोलकत्ता डर्बीको रुपमा रहेको दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । मोहम्मेडन र भवानीपुरबिचको खेलले शीर्ष डिभिजनको लिगमा बढुवा हुने टिमको टुंगो समेत लाग्नेछ ।
लिगमा दुई दुई खेल खेलेका दुबै टिमले शत प्रतिशत जित निकाल्दै ६ अंक जोडेका छन् । गोल अन्तरका आधारमा मोहम्मेडन शीर्ष स्थानमा रहेको छ ।
यस अघि भएको खेलमा मोहम्मेडनले गढ्वाल एफसीलाई १–० ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपाल राष्ट्रिय टिमका सदस्य अभिषेकको २ गोल मद्धतमा मोहम्मेडनले एआरए एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
एआरएविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अभिषेक भवानीपुरविरुद्ध समेत प्लेईङ सेटमा रहने सम्भावना रहेको छ । मुख्य प्रशिक्षक यान लले क्लब छाड्दा सहायक प्रशिक्षक साहिद रोमनले टिम समाल्नेछन् ।
यता, भवानीपुरले भने पहिलो खेलमा बैंग्लुरु युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा एआए एफसीलाई पराजित गरेको थियो ।
खेल अघि बोल्दै दुबै टिमको प्रशिक्षकले महत्वपूर्ण तीन अंक हासिल गर्नेमा आफुहरु विश्वस्त भएको बताएका छन् ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष १ टिमले आईलिगमा स्थान बनाउने छन् ।