काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसंग मैत्रीपूर्ण फुटबलको तयारी गरेको छ ।
कोरोना महामारीका कारण घरेलु फुटबल समेत ठप्प रहेको अवस्थामा एन्फाले बंगलादेशसंग मैत्रीपूर्ण फुटबलको तयारी गरेको हो ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)संग अनुमती मागेको छ । एन्फाको प्रस्तावको राखेप समेत सकारात्मक छ । राखेपले लिखित रुपमै एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अनुमति दिने तयारी गरेको छ ।
बंगलादेशको प्रस्तावमा नेपालले मैत्रीपूर्ण खेलको तयारी थालेको हो । राखेपबाट सहमती प्राप्त भएको अवस्थामा नेपालले बंगलादेशमा गएर मैत्रीपूर्ण म्याच खेल्नेछ ।
बंगलादेश सहित करिब दर्जन देशले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छन् ।
‘प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बंगलादेशसंग मैत्रीपूर्ण खेलका लागि तयारी थाल्दैछौ ।’ एन्फाका एक अधिकारीले खेलपाटीसंग भने ।
एन्फाका ती अधिकारीका अनुसार दशै लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिनेछ । तिहार लगत्तै नेपाली टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नेछ ।
मैत्रीपूर्ण खेलको तयारीका लागि अभ्यासको अनुमती दिन एन्फाका पदाधिकारी बिहिबार राखेप सदस्य सचिव रमेश सिलवाललाई भेट्न पुगेका थिए । सदस्य सचिव सिलवालले आफु अनुमती दिन तयार रहेको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
कोरोना महामारीका कारण ठप्प देखिएको घरेलु फुटबललाई अघि बढाउन एन्फाले निरन्तर प्रयास गरिरहेको छ । राष्ट्रिय टिमको प्रशिक्षण सूरु गरेर घरेलु फुटबल पनि खुल्ला गर्ने एन्फाको तयारी छ । तर एन्फाले प्रशिक्षणको अनुमती माग गर्दै अघि बढाएको प्रस्ताव मन्त्रीपरिषद्मै नपुगेर रोकिएको छ ।
खेलकुद मन्त्रालयका अनुसार एन्फाको प्रशिक्षण अनुमतीको प्रस्ताव तत्काल अघि बढ्ने सम्भावना छैन ।
यसअघि, सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगिताको अभ्यास गर्न अनुमती दिने निर्णय गरेको थियो । तर कोरोना संक्रमितको संख्या बढेको भन्दै स्वास्थ्य मन्त्रालयले एन्फालाई तत्काल प्रशिक्षण रोक्न अनुरोध गर्दै पत्र लेखेको थियो ।
लगत्तै एन्फाले राष्ट्रिय टिमका प्रशिक्षण रद्ध गर्दै खेलाडीलाई घर फर्काएको थियो । नेपालले प्रशिक्षण सुरु गर्ने अघिल्लो दिन एएफसीले समेत विश्वकप छनोटका खेलहरु अनिश्चित समयका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
एएफसीको निर्णय र सरकारको निर्देशनपछि एन्फाले प्रशिक्षण तत्काल स्थगित गर्ने निर्णयमा पुगेको थियो ।
तर दक्षिण एसिया सहित विश्वभर फुटबल गतिविधि सुरु भएको अवस्थामा एन्फालाई समेत प्रशिक्षण खुलाउने दबाब बढेको छ । सोही अनुसार एन्फाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भएपनि प्रशिक्षणको अनुमती माग गर्दै राखेपमाथि दबाब बढाएको हाे ।