एजेन्सी । एसियन फुटबल महासंघ (एएफसी) ले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई 'एएफसी ग्रासरुट चार्टर ब्रोन्ज लेभेल मेम्बरसिप' प्रदान गरेको छ ।
नेपाली फुटबलले ग्रासरुट फुटबल विकासको लागि गरेको कदर गर्दै एएफसीले एन्फालाई 'एएफसी ग्रासरुट चार्टर ब्रोन्ज लेभेल मेम्बरसिप' प्रदान गरेको हो ।
नेपालले पहिलो पटक यस्तो सदस्यता प्राप्त गरेको एन्फाले जनाएको छ ।
यस उपलब्धिले नेपाली फुटबलको विकासको लागि काम गर्न उर्जा प्रदान गरेको समेत एन्फाले जनाएको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कठिन मेहेनतले यस उपलब्धि प्राप्त गरिएको र फुटबल विकासका लागि थप हौसला मिलेको बताए ।
'नेपाली फुटबलको इतिहासमा यो ठुलो उपलब्धि हो । हाम्रो कडा मेहनतको कारण यो प्राप्त गरेका छौँ । यसले नेपाली फुटबलको विकासका लागि मेहनत गर्ने बल प्रदान गरेको छ,' शेर्पाले भने ।
एन्फाका उपाध्यक्ष तथा ग्रासरुट र युवा संयोजक उपेन्द्र मान सिंहले यस उपलब्धि नेपाली फुटबलको माइलस्टोन भएको बताए ।