एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्न लागेका हुन् । इंग्ल्यान्डमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा इंग्ल्यान्ड तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । इंग्ल्यान्डले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको छ ।
लिग 'ए' समूह २ मा रहेको इंग्ल्यान्ड ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्डले पहिलो खेलमा आइसल्याण्डलाई १-० ले हराएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तेस्रो खेलमा भने इंग्ल्यान्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
बलियो टिम बेल्जियमलाई हराएको कारण इंग्ल्यान्ड उच्च मनोबलका सतह मैदान उत्रने छ ।
डेनमार्कको मैदानमा अंक बाडेको इंग्ल्यान्ड घरेलु मैदानमा भने ३ अंक जोड्न चाहन्छ ।
यता, डेनमार्क भने दोस्रो जितको खोजीमा हुनेछ । तेस्रो स्थानको डेनमार्कले ३ खेलमा ४ अंक जोडेको छ ।
डेनमार्क आइसल्याण्डलाई ३-० ले पराजित गर्दा बेल्जियमसँग २-० ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डसँग खेल्नेछ ।
बेल्जियम आइसल्याण्डलाई हराएर तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
३ खेलमा ६ अंक जोडेको बेल्जियम दोस्रो र अंक विहीन आइसल्याण्ड पुछारमा रहेको छ ।