एजेन्सी । नेयमार ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।
विश्वकप छनोट अन्तर्गत बुधबार पेरुविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।
पेरुविरुद्ध ४-२ को जित निकाल्दा नेयमारले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै नेयमारले ब्राजिलका लागि ६४ गोल पुरा गरे ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले १ सय ३ खेलमा ६४ गोल गरेका हुन् ।
२८ वर्षीय नेयमारले पूर्व लिजेण्ड रोनाल्डोलाई २ गोलले पछि पारे । रोनाल्डोले ९८ खेलमा ब्राजिलका लागि ६२ गोल गरेका छन् ।

ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पेलेको नाममा रहेको छ ।
फुटबलका भगवान मानिने पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । पेलेले ९२ खेलमा कीर्तिमानी गोल गरेका हुन् ।
दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
१० राष्ट्र रहेको यस क्षेत्रबाट शीर्ष ४ टिमले कतार विश्वकपमा स्थान बनाउने छन् । पाँचौं स्थानमा रहनेले अन्तरमहादेशीय प्ले अफ छनोट खेल्नु पर्नेछ ।


यो पढ्नुहोस् - नेयमारको ह्याट्रिक, ब्राजिलको शानदार जित