एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति साविकको विजेता पोर्चुगल र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा पोर्चुगल र स्विडेन भिड्न लागेका हुन् । पोर्चुगलमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा पोर्चुगल तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । पोर्चुगलले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको छ ।
लिग 'ए' समूह ३ मा रहेको पोर्चुगल ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४-२ ले हराएको थियो । दोस्रो खेलमा स्विडेनलाई २-० ले हराएको थियो ।
तेस्रो खेलमा भने पोर्चुगल फ्रान्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, स्विडेनसँगको खेलमा पोर्चुगललाई कप्तान क्रिस्टियानो रोनाल्डोको अभाव हुनेछ ।
कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डोले स्विडेनसँगको खेल गुमाउने छन् । रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा रहेका छन् ।
यता, स्विडेन भने पहिलो जितको खोजीमा हुनेछ । स्विडेनले ३ खेलमा अंक जोड्ने सकेको छैन ।
यस्तै पुछारमा रहेको स्विडेन पोर्चुगलसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
स्विडेन पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित हुँदा दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको थियो ।
यस्तै तेस्रो खेलमा स्विडेनलाई क्रोएसियाले २-१ ले हराएको थियो ।