एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा फ्रान्स र क्रोएसिया भिड्न लागेका हुन् । क्रोएसियामा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
क्रोएसियाविरुद्ध मैदान उत्रदा फ्रान्स तेस्रो जित निकाल्ने योजनामा हुनेछ । फ्रान्सले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो ।
लिग 'ए' समूह ३ मा रहेको फ्रान्स ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फ्रान्सले पहिलो खेलमा स्विडेनलाई १-० ले हराएको थियो । दोस्रो खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराएको थियो ।
तर, तेस्रो खेलमा भने फ्रान्स पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
क्रोएसिया भने दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । तेस्रो स्थानको क्रोएसियाले ३ खेलमा ३ अंक जोडेको छ ।
यस्तै क्रोएसिया पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
क्रोएसिया पहिलो खेलमा पोर्चुगलसँग ४-१ ले पराजित हुँदा दोस्रो खेलमा फ्रान्ससँग ४-२ ले पराजित भएको थियो ।
तेस्रो खेलमा भने क्रोएसियाले स्विडेनलाई २-१ ले हराएको थियो ।