एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (मंगलबार) स्पेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरणको चौंथो खेलमा स्पेन र युक्रेन भिड्न लागेका हुन् । युक्रेनमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
युक्रेनविरुद्ध मैदान उत्रदा स्पेन तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । स्पेनले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो ।
लिग 'ए' समूह चारमा रहेको स्पेन ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
स्पेनले पहिलो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा युक्रेनलाई ४-० ले हराएको थियो ।
यस्तै तेस्रो खेलमा स्पेनले स्विजरल्याण्डलाई १-० ले हराएको थियो ।
यता, युक्रेन भने दोस्रो जितको खोजीमा रहेको छ । तेस्रो स्थानमा रहेको युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ ।
युक्रेनले पहिलो खेलमा स्विजरल्याण्डलाई २-१ ले हराएको थियो । तर, दोस्रो खेलमा स्पेनसँग नै ४-० र तेस्रो खेलमा जर्मनीसँग २-१ ले पराजित भएको थियो ।
घरेलु मैदानमा युक्रेन स्पेनसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । तर, स्पेन भने पुन: युक्रेनलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
नेसन्स लिग अन्तर्गत नै मोन्टेनेग्रोले लक्समबर्गसँग खेल्नेछ ।