काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले कोरोना भाईरसको मापदण्ड बनाएर फुटबल लगायत खेलकुदका गतिविधि सुरु गर्न माग गरेका छन् ।
किरणले सोमबार खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिसद (राखेप) र सरकारलाई खुला पत्र लेख्दै खेलकुद गतिविधि सुरु गर्न माग गरेका हुन् ।
विश्वका अधिकांस राष्ट्रमा फुटबलसहित खेलकुद गतिविधि सुरु भईसकेको बताउदै किरणले नेपालमा समेत खेलकुद सुरु गर्न माग गरेका हुन् ।
'राष्ट्रिय खेलकुद परिषद तथा सरकारलाई सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ र एन्फाको तर्फबाट सरकारलाई फुटबल मात्र नभएर सम्पुर्ण खेलकुद सबै मापदण्ड पुरा गरेर सुरु गर्न अनुरोध गर्दछु,' किरणले आधिकारिक सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
किरणले खेलाडीको मर्म नबुझ्ने व्यक्ति खेलकुदको सम्बन्धित निकायमा बस्नुको अर्थ नहुने भन्दै सुटिङको लागि खुला हुने रंगशाला फुटबलका लागि किन बन्द भनेर प्रश्न समेत गरेका छन् ।
'सबै देशमा फुटबल सुरु भईसक्दा हाम्रो देशमा रंगशाला फ्लिम सुटिङ र म्युजिक भिडियोका लागि प्रवेश खुला हुने,' किरणले प्रश्न गरेका छन्, 'फुटबल खेल्नका लागि किन खुला नहुने ? फुटबलले देशका लागि त्यति ठुलो असर पार्छ र ?'

किरणले सरकारले देशको नाम चिनाउने खेलकुद र खेलाडीलाई बिर्सिएको र खेलाडीको लागि बोलिदिने कोहि नभएको समेत बताएका छन् ।
'खेलकुद मन्त्रालय र खेलकुद परिषदले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ भनेर बिर्सनु भयो । यतिका महिना खेलाडी र खेलकुद कुन दुरावस्थामा छ भने चासोको विषय नबनाएको देख्दा यसमा भविष्य खोज्नेहरुमा परेको असार खुलस्त देख्न सकिन्छ,' किरणले लेखेका छन्, 'हाम्रो देशमा खेलाडी र खेलकुदको विषयमा बोलिदिने मान्छे कोहि भएन ।'
फुटबल खेलाडीले खेल्न बिर्सिसकेको बताउँदै किरणले खेलेर जीविकोपार्जन गर्ने खेलाडी बेरोजगार भएर विदेशीन थालेको समेत बताएका छन् । उनले बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिने भन्दै प्रश्न समेत उठाएका छन् ।
'सरकार फुटबल राजनिती जस्तो होइन । चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । दुई खुट्टा चलाएर घर परिवार हेर्नु पर्ने हुन्छ । ७ महिनाबाट बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ,' किरणले भनेका छन्, 'जुन खेलाडी खेलेर नै जीविका चलाउथे उनीहरु आजभोली खेलमैदान छोडेर विदेश जादै छन् । यो लाज हुने कुरा होइन ?'
कोरोना भाईरसको महामारीको कारण गत चैतबाट खेलकुदका सम्पूर्ण गतिविधि बन्द रहेको छ । सरकारले अन्य क्षेत्र खुला गरेपनि रंगशाला लगायत खेलकुदका गतिविधिलाई अझै रोक लगाएको छ ।