एजेन्सी । स्पेनिस लिजेण्ड गोलकिपर इकर कासिलासले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भन्दा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको करियर प्रभावशाली भएको बताएका छन् ।
रियल मड्रिडका पूर्व गोलकिपर समेत रहेका कासिलासले मेस्सी प्रतिभावान खेलाडी भएपनि रोनाल्डोको करियर प्रभावशाली भएको बताएका हुन् ।
'रोनाल्डोको सानैबाट सर्वश्रेष्ठ हुने चाहना थियो । मलाई विश्वास छ थियो उसले त्यो हासिल गर्नेछ,' कासिलासले भने, 'मैले मेस्सीसँग तुलना गर्ने हो भने रोनाल्डोले गरेको काम अझ प्रभावकारी छ किनकी हामी सबैलाई मेस्सीको प्रतिभा थाहा छ । तर, रोनाल्डो दृढ संकल्पित थिए र उत्कृष्ट हुन कडा परिश्रम गरे ।'
३९ वर्षीय कासिलासले रोनाल्डोसँग रियल मड्रिडमा ६ वर्ष सँगै खेलेका थिए ।

कासिलासले सन् २०१५ मा रियल छाडेर पोर्टो गएका थिए । त्यसको तीन वर्षपछि रोनाल्डो युभेन्ट्स आएका थिए ।
तर, रोनाल्डोले रियलमा कीर्तिमानी प्रदर्शन गरेका थिए । रोनाल्डोले रियलमा ४ सय ३८ खेलमा ४ सय ५० गोल गर्दै रियलका सर्वाधिक गोलकर्ता बनेका थिए ।
यस्तै रोनाल्डोले रियलबाट ५ च्याम्पियन्स लिगसहित १७ उपाधि जितेका थिए ।
यस्तै कासिलासले रोनाल्डो र मेस्सीसँग खेल्न पाएकोमा आफुलाई भाग्यमानी महसुस गरेको समेत बताए ।
'मैले आफुलाई भाग्यमानी ठानेको छु किनकी मैले अभूतपूर्व खेलाडीसँग खेल्न पाए,' कासिलासले भनेका छन् ।
कासिलासले रोनाल्डो हेर्दा अहंकारी देखिएपनि त्यस्तो नभएको समेत बताए ।