एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल सम्मिलित मोहम्मेदन स्पोर्टिङ क्लबले आईलिग छनोटमा विजयी सुरुवात गरेको छ ।
कोलकत्तामा बिहीबार भएको पहिलो खेलमा मोहम्मेदनले गढ्वाल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयको ४ मिनेटमा गोल सम्भव भएको थियो । खेलको अन्तिम मिनेटमा मोहम्मेदनका मुनमुन लुगुनलले गोल गरेका थिए । डिफेन्डर मुनमुनले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै जाली चुमेको थियो ।
भारतीय ए लाईसेन्स प्राप्त प्रशिक्षक यान लले स्ट्राइकर अभिषेक रिजाललाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए । अभिषेकले मोहम्मेदनबाट खेलको ८६ मिनेटमा डेब्यु गरे ।

यसअघि मोहम्मेदनले दोस्रो हाफमा अग्रता बनाउने सुनौलो मौका गुमाएको थियो । विदेशी खेलाडी विलीस प्लाजाले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । गढ्वाल एफसीका गोलरक्षक सायक बराजले मोहम्मेदनका गानी अहमेमलाई डिबक्स भित्र खराव ट्याकल गरेपछि रेफ्रीले मोहम्मेदनलाई पेनाल्टीको अवसर दिएका थिए । प्लाजाको प्रहार बारमा लागेर फर्किएको थियो ।
जितसँगै मोहम्मेदनले महत्वपूर्ण तिन अंक हासिल गरेको छ । आजनै भएको पहिलो खेलमा भवानीपुरले बेंगरुलू एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शिर्ष १ टिम आई लिगमा बढुवा हुनेछ ।