एजेन्सी । भारतीय शीर्ष डिभिजन आईलिगको छनोटको रुपमा हेरिएको आईलिग छनोट (दोस्रो डिभिजन) प्रतियोगिता आज (बिहीबार) बाट सुरु हुँदैछ ।
कोरोना कहरकाबीच भारतमा पहिलो पटक फुटबल सुरु हुन लागेको हो ।
बिहीबार हुने उद्घाटन खेलमा राष्ट्रिय फुटबल टिमका युवा स्टार अभिषेक रिजाल सम्मिलित मोहम्मेदन स्पोर्टिङ क्लब र गढ्वाल एफसी भिड्नेछन् ।
खेल नेपाली समय अनुसार साँझको पौने ५ बजेपछि सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल कोेलकत्ताको कल्याणी स्टेडियममा हुनेछ ।
कोरोना भाईरसका कारण भारतमा पनि फुटबल गतिविधि ठप्प छन् ।
फ्रेन्चाईज फुटबल हिरो इन्डियन सुपरलिग (आई एस एल) समेत सुरु हुन सकेको छैन । यस्तै, आईलिगको पनि नयाँ सिजन सुरु हुन सकेको छैन ।
भारतीय फुटबल महासंघले आईलिग छनोटसँगै आईएसएल सुरु गर्ने तयारी गरेको छ ।
भारतीय फुटबल महासंघले उद्घाटन सत्रमा मोहम्मेदन स्पोर्टिङ र गढ्वालबीच प्रतिस्पिर्धा हुने बताएपनि त्यसअघि भवानीपुर एफसी र बेङ्गरुलु एफसी भिड्ने छन् । पहिलो खेल साँढे १२ बजे हुनेछ ।
यसअघि नेपालबाट भारतीय दोस्रो डिभिजन (आईलिग छनोट) खेल खेल्न अभिषेकसँगै राजेश परियार समेत भारत पुगेका छन् । नेपाल यू–२३ टिमका सदस्य राजेशले एआरए एफसीबाट प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगितामा मोहम्मेदन स्पोर्टिङ क्लबसँगै एआरए एफसी, भवानीपुर एफसी, बेंगरुलु युर्नाईटेड, गढ्वाल एफसी गरि ५ क्लबले सहभागी जनाएका छन् ।
सिंगल राउण्ड रोबिनका आधारमा संचानल हुने प्रतियोगिताको शीर्ष टिम पहिलो श्रेणीको लिगमा बढुवा हुनेछ ।