एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले पहिलो हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा वेस्ट ह्यामसँग ३-० ले पराजित हुँदै लेष्टर सिजनको पहिलो हार व्यहोरेको हो ।
अघिल्ला तीन खेलमा अपराजित लेष्टर घरेलु मैदानमै पराजित भएको हो ।
वेस्ट ह्यामलाई जित दिलाउन मिचेल एन्टोनियो, पाब्लो फोर्नाल्स र जार्रोड बोविनले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्ट ह्यामलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बोविनले गोल गर्दै वेस्ट ह्यामलाई ३-० को जित अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा लेष्टरका हार्भे बर्नेसले एक गोल फर्काएका थिए । तर, भीएआरको सहायताबाट बर्नेसको गोल अफसाइड देखिएको थियो ।
वेस्ट ह्यामको यो दोस्रो जित हो । जितसँगै छैटौं स्थानको वेस्ट ह्यामले ४ खेलमा ६ अंक जोडेको छ ।

दोस्रो स्थानको लेष्टरले ४ खेलमा ९ अंक जोडेको छ । हारसँगै लेष्टरले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा साउथह्याम्पटनले वेस्ट ब्रुमलाई २-० ले हराएको छ ।

साउथह्याम्पटनलाई जित दिलाउन मौसा डिजेन्पो र ओरिओल रोमेउले एक एक गोल गरे ।
साउथह्याम्पटनको यो दोस्रो जित हो । साउथह्याम्पटनले ४ खेलमा ६ अंक जोडेको छ । वेस्ट ब्रुमको यो तेस्रो हार हो ।
