सिटी आए डियास

एजेन्सी । म्यान्चेष्टर सिटीले पोर्चुगलका डिफेन्डर रुबेन डियासलाई औपचारिक रुपमा अनुबन्धन गरेको छ ।
बेन्फिकाका कप्तान रहेका डियासलाई सिटीले ६५ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।
सिटीले डियासलाई ६ वर्षका लागि इतिहाद क्लबमा जोडेको हो ।
अर्जेन्टिनी सेन्टर ब्याक निकोलस ओटामेन्डीले १३ दशमलव ७ मिलियन पाउण्डमा नयाँ गन्तव्य रोजेपछि सिटीले नयाँ डिफेन्डर अनुबन्धन गरेको हो ।
प्रशिक्षक पेप ग्वार्डीओलाले तेस्रो खेलाडीको रुपमा डायसलाई समर ट्रान्सफरमा अनुबन्धन गरेका हुन् ।
उनले डिफेन्डर नाथन एके र फरवार्ड फेरान टोरेसलाई क्लबमा भित्र्याएका थिए ।
‘यस्तो प्रतिभाशाली टिमको हिस्सा बन्न पाउनु र विश्व स्तरका प्रशिक्षक पेप ग्वार्डीओलाको नेतृत्वमा खेल्न पाउनु वास्तवमै रोमाञ्चक छ । जोसंग म जस्ता युवा खेलाडीलाई विकास गर्ने कीर्तिमान छ ।’ डियासले भनेका छन् ।
पोर्चुगलका एकेडेमीका खेलाडी डियासले सिनियर टिमबाट १ सय १३ खेल खेलेका छन् । उनले गत सिजन पोर्चुगलको लिग उपाधि समेत आत्मसाथ गरेका थिए । उनले पोर्चुगलको राष्ट्रिय टिमबाट १९ खेल खेलेका छन् ।
उनी पछिल्लो समय आर्सनलसंग जोडिएका थिए । तर नयाँ डिफेन्डरको खोजी गरिरहेका ग्वार्डीओलाले उनलाई गुमाउन चाहेनन् ।
उनलाई सिटीले भिसेन्ट कोम्पनीको प्रतिस्थापन मानेको छ । कोम्पनीको बर्हिगमनसंगै सिटीले गत सिजन लिगमा खासै चुनौती दिन सकेन ।
‘रुबेन एक खेलाडी हुन्, जसलाई हामीले केही समयदेखि चाहिरहेका थियौ । बेन्फिकामा उनले गरेको प्रगतिबाट हामी प्रभावित थियौ ।’ सिटीका निर्देशक झिकी वेगिरिस्टेनले भनेका छन् ।