एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नवौं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको १६ औं मिनेटमा सउल निगुएजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार ग्रानडाका गोलकिपर रुइ सिल्भाले बचाए ।
४७ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।
७२ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दा एट्लेटिकोको अग्रता ४-० को बन्यो ।
८५ औं मिनेटमा डेब्यु खेलाडी लुइस सुआरेजले गोल गर्दै टोलीको अग्रता ५-० को बनाए ।
बार्सिलोनाबाट एट्लेटिको आएका फरवार्ड सुआरेजले डेब्यु खेलमै गोल गरेका हुन् । सुआरेज कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
सुआरेजले लोरेन्टको गोलका लागि असिस्ट समेत गरेका थिए ।

खेलको ८७ औं मिनेटमा ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ६-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै एट्लेटिकोले ३ अंक जोडेको छ ।
ग्रानडाको यो पहिलो हार हो । ग्रानडाले ३ खेलमा ६ अंक जोडेको छ।