एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सिजनको पहिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा होफेनहाइमसँग ४-१ गोल अन्तरले पराजित हुँदै बायर्नले सिजनको पहिलो हार व्यहोरेको हो ।
घरेलु मैदानमा होफेनहाइमलाई जित दिलाउन आन्द्रेज क्रमारीचले दुई गोल गरे ।
यस्तै इर्मिन बाइकाचिच र मुनास डाब्बुरले एक एक गोल गरे । बायर्नका जोसुवा किमिचले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा इर्मिनले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा डाब्बुरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
३६ औं मिनेटमा बायर्नका किमिचले गोल गरेपछि पहिलो हाफमा घरेलु टिम २-१ ले अघि रह्यो ।
खेलको ७७ औं मिनेटमा क्रमारीचले गोल गर्दै होफेनहाइमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा क्रमारीचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै होफेनहाइमलाई ४-१ को जित दिलाए ।

बायर्नका गोलकिपर मानुएल नुएरले पेनाल्टी क्षेत्रमा बेबुलाई फउल गरेपछि होफेनहाइमले पेनाल्टी पाएको थियो ।
बायर्नलाई पराजित गरेसँगै होफेनहाइम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो जित निकालेको होफेनहाइमले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा होफेनहाइमले कोएल्नलाई ३-२ ले हराएको थियो ।
पराजित बायर्नको २ खेलमा ३ अंक रहेको छ । बायर्न तालिकाको छैटौं स्थानमा रहेको छ ।
बायर्नले सिजनको पहिलो खेलमा भने फराकिलो जित निकालेको थियो । सिजनको पहिलो खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरले हराएको थियो ।
