एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरीमा चित्त बुझाउनु परेको हो ।
खेलको २५ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । कप्तान ह्यारी केनको पासमा लुकासले गोल गरेका थिए ।

तर, खेलको इन्जुरी समयमा कलुम विल्सनले पेनाल्टीमा गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।
टोटेनहमका डिफेन्डर एरिक डायरले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि न्युकासलले पेनाल्टी पाएको थियो ।
न्युकासलसँगको बराबरीसँगै टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ । टोटेनहम तालिकाको सातौं स्थानमा रहेको छ ।
न्युकासलको पनि ३ खेलमा ४ अंक रहेको छ । न्युकासल नवौं स्थानमा रहेको छ ।
