एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा वेल्सले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बुल्गेरियालाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे ।
कार्डिफ सिटी स्टेडियममा खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

घरेलु मैदानको जितसँगै वेल्सले २ खेलमा ६ अंक जोडेको छ । लिग 'बी' समूह चारको वेल्स समूहको शीर्ष स्थानमा रहेको छ ।
वेल्सले पहिलो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।
बुल्गेरियाको यो पहिलो हार हो । बुल्गेरिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा बुल्गेरियाले आयरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
यस समूहमा १ खेलमा १ अंक जोडेको आयरल्याण्ड दोस्रो र अंक विहीन फिनल्याण्ड पुछारमा रहेको छ ।