एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न १० खेलहरु हुँदैछ ।
नेसन्स लिगमा आइतबार जर्मनी, स्पेन, वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
लिग 'ए' समूह ४ मा रहेको जर्मनीले स्विट्जरल्यान्डसँग खेल्नेछ । स्विट्जरल्यान्डको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रदा जर्मनी पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जर्मनीले स्पेनसँग १-१ गोलको बराबरी खेलेको थियो ।
पहिलो खेलमा हार व्यहोरेको स्विट्जरल्यान्ड पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा स्विट्जरल्यान्ड युक्रेनसँग २-१ ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा स्पेनले युक्रेनसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
स्पेन पहिलो जितको खोजीमा हुनेछ । यस समूहको शीर्ष स्थानमा रहेको युक्रेन लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यस्तै वेल्सले बुल्गेरियासँग खेल्नेछ । घरेलु मैदानमा वेल्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा वेल्सले फिनल्याण्डलाई १-० ले हराएको थियो । लिग 'बी' समूह चारको वेल्स ३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा आयरल्याण्ड र फिनल्याण्डबीच खेल हुनेछ ।
रुसले हंगेरीसँग उसैको मैदानमा खेल्नेछ । दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
पहिलो खेलमा रुसले सर्बिया र हंगेरीले टर्कीलाई हराएको थियो ।
अन्य खेलमा ग्रिसले कोसोभो, सर्बियाले टर्की, माल्टाले लाट्भिया तथा एण्डोराले फारोई आइसल्याण्डसँग खेल्नेछ ।