एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सले क्लबको कीर्तिमानी मूल्यमा युवा फरवार्ड फाबियो सिल्भालाई अनुबन्ध गरेको छ ।
उल्भ्सले फरवार्ड फाबियोलाई पोर्चुगिज क्लब पोर्टोबाट ३५.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
१८ वर्षीय फरवार्डका लागि उल्भ्सले तिरेको यो रकम क्लब इतिहासकै सर्वाधिक हो ।
यस अघि उल्भ्सले गत वर्ष राउल जेमिनिज अनुबन्ध गर्दा ३० मिलियन पाउण्ड तिरेको थियो ।
पोर्चुगिज फरवार्डले उल्भ्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।

फाबियोले सन् २०१९ मा १७ वर्ष २२ दिनको दिन पोर्टोको सिनियर टिममा डेब्यु गरेका थिए ।
गत सिजन पोर्टोका लागि उनले १८ खेलमा १ गोल गरेका थिए ।
उल्भ्सले यस सिजन सेप्टेम्बर १४ मा सेफिल्डसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।