एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले आफु फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन् ।
पीएसजीको म्यागेजिनसँगको अन्तर्वार्तामा नेयमारले आफु पीएसजीमै रहने बताएका हुन् ।
नेयमारले क्लबको इतिहासको पुस्तकमा आफुले नाम लेखाएर मात्र क्लब छाड्ने समेत बताए ।
'म अर्को सिजन पीएसजीमा बस्न चाहन्छु । म यहिँ रहने छु र च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्ष्यसहित । त्यस समय जित्ने छौँ,' नेयमारले भनेका छन्, 'क्लबको इतिहासको पुस्तकमा नाम राख्न मलाई मन पर्छ ।'
हालै सकिएको २०१९/२० को सिजन पीएसजी च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर, पहिलो पटक फाइनल पुगेको पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।
स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा चलिरहेको बेला नेयमारले आफु पीएसजीमै बस्ने बताएका हुन् ।
नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।
चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय भने नेयमारले आफु पेरिसमा खुशी रहेको बताउदै आएका छन् ।
पछिल्लो सिजन नेयमारले क्लबका लागि उत्कृष्ट प्रदर्शन समेत गरिरहेका छन् ।