एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा आज (शुक्रबार) राति बार्सिलोना र बायर्न म्युनिख भिड्दैछन् ।
पोर्चुगलको स्टाडियो डा लुजमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
बायर्न समूह बी र बार्सिलोना समूह एफको विजेताको रुपमा नकआउट चरणमा स्थान बनाएका थिए ।
बार्सिलोनाले ईटालियन क्लब नापोली र बायर्नले लण्डन क्लब चेल्सीको चुनौती पार गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।
रोबर्ट लेवान्डोस्की प्रेरित बायर्नले यस सिजनको बुन्डेसलिगा समेत जितेको छ । बार्सिलोना भने स्पेनिस लिगको उपाधिको क्षतीपूर्ती च्याम्पियन्स लिगबाट लिन चाहन्छ ।
बार्सिलोनाले घरेलु लिगमा यस सिजन खासै राम्रो गर्न सकेन । प्रशिक्षक क्विक सेटियन नेतृत्वको बार्सिलोनाले लिग उपाधि रियल मड्रिडलाई सुम्पिएको हो ।
गत जनवरीमा मुख्य प्रशिक्षकको रुपमा बार्सिलोना आएका सेटियन दबाबमा छन् । च्याम्पियन्स लिगको बहिर्गमनले उनको पद समेत जाने पक्का पक्की जस्तै छ ।
तर बायर्नलाई यस सिजन बुन्डेसलिगामा कुनै टिमले चुनौती दिन सकेन । बायर्नले लगातार लिग उपाधि आफ्नो कब्जामा राख्यो ।
पोल्याण्डका फरवार्ड लेवान्डोस्की प्रेरित बायर्नले यस सिजनमात्र च्याम्पियन्स लिगका ७ खेलमा १३ गोल गरिसकेका छन् । उनी एकै सिजनमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमानबाट चार गोल पछि छन् ।
विजेता टिमले सेमिफाईनलमा लियोन र म्यान्चेष्टर सिटीबीचको विजेतासंग खेल्नेछ ।