रिपोर्ट नबुझाए प्रशिक्षकले तलब नपाउने

एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मासिक रिपोर्ट पेश नगर्ने जिल्ला तथा प्रदेशका प्रशिक्षकलाई तलब सुविधा नदिने बताएको छ ।
जिल्ला तथा प्रदेशमा रहेका प्रशिक्षकले दैनिक फुटबल गतिविधिको रिपोर्ट पेश गर्नुपर्ने उल्लेख गर्दै एन्फाले मासिक रिपोर्ट नबुझाउने प्रशिक्षकलाई तलब नदिने बताएको हो ।
एन्फाको टेक्निकल विभागले सोमबार प्रदेश नम्बर ५, ६ र ७ मा प्रशिक्षकसंग अन्तरक्रिया गर्दै सो जानकारी गराएको हो ।
एन्फाले अनलाईनमार्फतनै दैनिक रिपोर्ट पेश गर्न मोफसलका प्रशिक्षकलाई निर्देशन समेत दिएको छ ।
एन्फाले सोमबार प्रदेश तथा जिल्लाका प्रशिक्षकसंग छलफल गर्दै अनलाईनमार्फत रिपोर्टिङ गर्ने तरिका सिकाएको थियो ।
एन्फाको कार्यक्रम अनुसार अब प्रदेश तथा जिल्लाका प्रशिक्षकले आफ्ना दैनिकी कार्य एन्फाको साईटमा अपडेट गराउनु पर्नेछ । प्रत्येक दिनको अभ्यासको फोटो, अभ्यास सत्रको कार्यक्रम, खेलाडीको विवरण साथै अभ्यास गर्ने स्थान र समय प्रशिक्षकले रिपोर्टमा खुलाउनुपर्नेछ । जसको रेखदेख एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोबाट हुनेछ । प्रशिक्षकले प्रस्तुत गर्ने रिपोर्टका आधारमा एन्फाले प्रशिक्षकलाई थप प्रशिक्षण कोर्स उपलब्ध गराउनेछ ।
सोमबारको कार्यक्रममा प्रदेश ५, ६ र ७ बाट २० प्रशिक्षकको सहभागीता रहेको थियो ।
केन्द्रबाट नियमित रुपमा अनुगमन नहुदाँ जिल्ला तथा प्रदेशका प्रशिक्षकले कागजी रिपोर्ट बुझाउने गरेका थिए । केही प्रशिक्षकले मासिक रिपोर्ट समेत प्रस्तुत नगरेर तलब सहितको सेवा सुविधा बुझ्दै आएका थिए । एन्फाले अब अनलाईनमा रिपोर्ट नदिने प्रशिक्षकको तलब सुविधा रोक्ने जनाएको छ ।
एन्फाले ४५ जिल्ला र सातै प्रदेशमा फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । एन्फाका प्रदेशमा २८ र जिल्लामा ४५ जना प्रशिक्षक रहेका छन् ।
एन्फाले चाँडै प्रदेश नम्बर ३ र ४ तथा प्रदेश नम्बर १ र २ का प्रशिक्षकसंग समेत अन्तरक्रिया कार्यक्रम आयोजन ागर्ने तयारी गरेको जानकारी दिएको छ ।
सोमबारको कार्यक्रममा एन्फा टेक्निकल डाईरेन्टर ग्यारी फिलिप्स, एन्फा ग्रासरुट विभाग, युवा विकास परियोजनाका प्रमुख तथा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोच एजुकेसन हेड संजित सिंह, इलाईट युथ प्रोग्राम प्रमुख नबिन महर्जन, महिला विभाग प्रमुख हरि खड्का र ग्रासरुट म्यानेजर मनोज रंजित सहभागि थिए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यक्रम आयोजनाको उद्धेश् यबारे प्रष्टाएका थिए ।