एजेन्सी । सिरि ए क्लब लाजियोका फरवार्ड सिरो ईम्मोबिलले युरोपियन गोल्डेन बुट जितेका छन् ।
यस सिजनको घरेलु लिगका सर्वाधिक गोलकर्ता ईम्मोबिलले सिरि एको गोल्डेन बुटसंगै युरोपेली क्लब फुटबलको गोल्डेन बुट समेत हात पारेका हुन् ।
शनिबार राति नापोलीबिरुद्धको खेलमा लाजियो ३–१ ले पराजित बन्यो । तर पाहुना टोली लाजियोका लागि इम्मोबिलले एक गोल गरेका थिए ।
उनले सिरि एमा गोन्जालो हिग्युनले राखेको ३६ गोलको कीर्तिमान समेत बराबरी गरेका छन् ।
युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अन्तिम खेलमा नखेल्ने भएपछि इम्मोबिलले गोल्डेन बुट जित्ने लगभग पक्का बनेको थियो । रोनाल्डोले यस सिजन ३१ गोल गरेका थिए भने ईन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले २३ गाल गरेका थिए ।
युरोपियन गोल्डेन बुट युरोपका शीर्ष डिभिजनको लिगमा गरेको गोलको आधारमा प्रदान गर्ने गरिन्छ ।
इम्मोबिलले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई दुई गोलले पछि पार्दै सो अवार्ड प्राप्त गरे । रोनाल्डो तेस्रो स्थानमा रहे ।
इम्मोबिलले भने सिरि एमा तेस्रो पटक गोल्डेन बुट प्राप्त गरे । उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेका थिए भने सन् २०१७–१८ को सिजनमा २९ गोल गरेका थिए ।
बार्सिलोनाका लियोनल मेस्सीले पछिल्ला तीन पटक युरोपियन गोल्डेन बुटको अवार्ड प्राप्त गरेका थिए । उनले यस सिजन २५ गोलमात्र गरे । तर उनी ला लिगाका सर्वाधिक गोलकर्ता रहे ।
यस सिजन युरोपियन फुटबलको गोल्डेन बुट जितेपनि इम्मोबिलले लिगको अन्तिम खेलमा लाजियोलाई हारबाट जोगाउन सकेनन् ।
घरेलु टोलीका फाबिनले नवौं मिनेटमा नापोलीलाई अग्रता दिलाएका थिए । ईम्मोबिलले २२ औं मिनेटमा लाजियोका लागि बराबरी गोल फर्काए ।
५४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा नापोलीलाई २–१ ले अघि बढाए । माटेओ पोलिटानेले खेलको अन्तिम मिनेटमा गोल गर्दै नापोलीलाई ३–१ को शानदार जित दिलाए ।
जित निकालेको नापोली ६२ अंक सहित सातौं स्थानमा रहेर लिगको अन्त्य गर्यो । लाजियो ७८ अंक सहित तालिकाको चौथो स्थानमा रहदै च्याम्पियन्स लिगमा आफुलाई सुरक्षित गर्यो ।