एजेन्सी । सिरि ए क्लब नापोलीले च्याम्पियन्स लिगको बार्सिलोनाविरुद्धको खेलमा पोर्चुगलमा सार्नुपर्ने बताएको छ ।
नापोलीका अध्यक्ष आरेलियो डी लारेन्टिसले क्याटलोनियामा बढ्दो कोरोना संक्रमणका कारण बार्सिलोनाविरुद्धको खेल पोर्चुगलमा सार्नुपर्ने बताएका हुन् ।
नापोलीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल नाउ क्याम्पमा बार्सिलोनासँग खेल्दैछ ।
प्रि क्वार्टरफाईनलको खेल अगष्ट ८ मा हुने तय छ ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो लेगको खेलको मिति मार्च १८ कालागि तय थियो । तर कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
पछिल्लो समय स्पेनको क्याटलोनियामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
च्याम्पियन्स लिगको क्वार्टरफाईनलका खेलहरु यसअघिनै पोर्चुगलमा सञ्चालन गर्ने पक्का भईसकेको छ ।
‘मैले स्पेनबाट आएका धेरै दुख र डरको बारेमा सुनेको छु । तर उनीहरु केही नभए जस्तो अभिनय गरिरहेका छन् ।’ लारेन्टिसले भनेका छन् ।
‘यदी उनीहरुले च्याम्पियन्स लिग पोर्चुगल र युरोपा लिग जर्मनीमा गर्ने निर्णय गरेका छन् भने अन्तिम १६ को खेल पनि पोर्चुगल र जर्मनीमा गर्नपर्छ ।’ उनले भने ।
‘मैले बुझेको छैन, किन उनीहरु वास्तवमा गम्भिर अवस्था भएको शहर रोजिरहेका छन् ।’ उनले थपे ।
बर्सिलोना र नापोलीबीचको विजेता टोलीले क्वार्टरफाईनलमा चेल्सी र बायर्न म्युनिखबीचको विजेतासंग खेल्नेछ । पहिलो लेगको खेलमा चेल्सीबिरुद्ध बायर्नले ३-० को अग्रता लिएको छ ।