एजेन्सी । इंग्लिस क्लब चेल्सीका विंगर विलियन अनुबन्धका लागि पाँच क्लबले चाँसो देखाएको छ ।
ब्राजिलियन विंगर विलियनका एजेण्ट किया जुराबचियनले दुई प्रिमियर लिगसहित पाँच क्लबले उनलाई अनुबन्धको लागि चाँसो दिएको बताएका छन्।
विलियन अनुबन्धका लागि चाँसो दिने अन्य क्लबमा युरोप र अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब रहेको एजेण्ट जुराबचियनले बताए ।
३१ वर्षीय फरवार्ड विलियनको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
विलियनले चेल्सीका लागि अन्तिम खेल एफए कपको फाइनलमा आर्सनलविरुद्ध खेल्ने छन् । एफए कपको फाइनल अगष्ट १ मा हुनेछ ।
विलियनले यस अघि नै सिजनको अन्त्यसँगै चेल्सी छाड्ने बताईसकेका छन् । तर, क्लबसँग लामो समयको सम्झौता भएमा उनी चेल्सीमै बस्न सक्ने बताईएको छ ।
'मलाई लाग्दैन कि उसले निर्णयमा यु-टर्न गर्छ,' एजेण्ट जुराबचियनले भने, 'हामीसँग धेरै ठुला प्रस्तावहरु आएका छन् । उनीसँग टेबलमा प्रिमियर लिगबाट दुई प्रस्तावहरू छन्, उनीसँग एमएलएस प्रस्ताव छ । जुन धेरै ठुलो छ र उनलाई युरोपमा दुई अन्य प्रस्तावहरू आएको छ ।'
विलियन सन् २०१३ मा चेल्सी आएका थिए । चेल्सीका लागि उनले २ सय ३४ खेलमा ३७ गोल गरेका छन् ।