प्रशिक्षक खड्कीलाई चेल्सी नेपालको सम्मान

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको नेपाली आधिकारिक समर्थक समूह चेल्सी नेपालले प्रशिक्षक सल्यान खड्कीलाई सम्मान गरेको छ ।
चेल्सी नेपालले मंगलबार एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षक खड्कीलाई सम्मान गरेको हो ।
चेल्सी नेपालले खड्कीलाई चेल्सी क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकले हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गर्दै सम्मान गरेको हो ।
उनलाई जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्तान्तरण गरेका थिए ।
सम्मानपछि बोल्दै प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए ।
'हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप उत्कृष्ट गर्न उर्जा मिलेको छ,' उनले भने ।
एन्फा अध्यक्ष शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए । उनले नेपाली फुटबललाई मैदानमै आएर समर्थन गर्न समेत आह्वान गरे ।
खड्कीले गत साता मात्र एएफसी 'ए' लाइसन्स कोचिङ कोर्स पुरा गरेका थिए । प्रशिक्षक खड्कीको प्रशिक्षणमा संकटा क्लबले २०७५ को सहिद स्मारक 'ए' डिभिजन लिगमा दोस्रो स्थान हासिल गरेको थियो ।