एजेन्सी । लेष्टर सिटीका स्ट्राइकर जेमी भार्डी इंग्लिस प्रिमियर लिग फुटबलमा 'गोल्डेन बुट' जित्ने सर्वाधिक बुढो खेलाडी बनेका छन् ।
३३ वर्षको उमेरमा 'गोल्डेन बुट' जित्दै भार्डी यस अवार्ड जित्ने सर्वाधिक बुढो खेलाडी बनेका हुन् ।
आइतबार राति सम्पन्न यस सिजनको प्रिमियर लिगमा २३ गोल गर्दै भार्डीले 'गोल्डेन बुट' अवार्ड जितेका थिए ।
यस अघि डिडियर ड्रोग्बाले सन् २००९/१० को सिजन ३२ वर्षको उमेरमा 'गोल्डेन बुट' जितेका थिए ।
इंग्ल्यान्डका फरवार्ड भार्डीले यस सिजन आर्सनलका पेरिक एम्रिक आबुमियाङ र साउथह्याम्पटनका डानी इन्ग्सलाई पछि पारेका थिए । दुवैले समान २२ गोल गरेका थिए ।
भार्डीले गोल्डेन बुट जितेपछि उनले टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन भने सकेनन् ।
सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको लेष्टर पाँचौं स्थानमा रह्यो ।
