एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलबाट यस सिजन बर्नेमाउथ, वाट्फोर्ड र नर्विच सिटी रेलिगेसनमा परेको छ ।
प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आइतबार राति एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेपनि बर्नेमाउथ रेलिगेसनमा परेको हो ।
बर्नेमाउथलाई अन्तिम खेलमा जित दिलाउन जोसुवा किङ,डोमिनिक सोलान्के र जुनियर स्टानिसलसले एक एक गोल गरे । एभर्टनका मोइसे किनले एक गोल फर्काए ।
तर, बर्नेमाउथ यस सिजन ३४ अंक जोडेर १८ औं स्थानमा रहेर च्याम्पियनसिपमा घटुवा भएको हो ।

यस्तै अन्तिम खेलमा आर्सनलसँग ३-२ ले पराजित वाट्फोर्ड पनि रेलिगेसनमा परेको छ ।
यस सिजन ३४ अंक जोडेर १९ औं स्थानमा रहेर वाट्फोर्ड रेलिगेसनमा परेको हो ।
नर्विच भने यस अघि नै रेलिगेसनमा परिसकेको छ । पुछारमा रहेको नर्विचले २१ अंक जोड्यो ।
सिजनको अन्तिम खेलमा नर्विच म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भएको थियो ।