लिभरपुल र चेल्सी भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा (आज) बुधबार दुई ठुला क्लब लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
लिभरपुल घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि ट्रफी उचाल्न चाहन्छ । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो ।
यस अघि नै च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँगको खेलपछि घरेलु मैदानमा उपाधि ट्रफी प्राप्त गर्नेछ ।
घरेलु मैदानमा लिभरपुल सहज जितसँगै शीर्ष स्थानको अग्रता समेत थप फराकिलो बनाउन चाहन्छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १५ अंकले अघि रहेको छ । लिभरपुलको ९३ अंक रहदा एक खेल बढी खेलेको सिटीको ७८ अंक रहेको छ ।
चेल्सी ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चेल्सी घरेलु टोलीलाई हराएर शीर्ष तीनको पकड बलियो बनाउन चाहन्छ ।
चेल्सीविरुद्धको खेलमा लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले टिममा पुनरागमन गर्ने बताईएको छ । चोटका कारण उनले अघिल्ला दुई खेल गुमाएका थिए ।
तर, जोइ माटिप र कप्तान जोर्डन हेन्डरसन टिम बाहिर रहनेछन् ।
लिभरपुलविरुद्ध चेल्सीका मिडफिल्डर एन'गालो कान्टे टिम बाहिर हुनेछन् ।
प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग खेल्नेछ ।
घरेलु मैदानमा युनाइटेड जित निकाल्दै शीर्ष तीनको दाबेदार कायम राख्न चाहन्छ ।
पाँचौं स्थानको युनाइटेडले ६२ अंक जोडेको छ । वेष्ट ह्यामलाई हराएमा युनाइटेड केहि घण्टाका लागि भएपनि तेस्रो स्थानमा उक्लनेछ ।
यदी चेल्सी लिभरपुलसँग पराजित भएको खण्डमा भने युनाइटेड तेस्रो स्थानमा कायम रहनेछ ।