एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
४० औं मिनेटमा सिटीले पेनाल्टी प्राप्त गर्यो । जसमा स्ट्रर्लिङको प्रहार वाट्फोर्डका गोलकिपर बेन फोस्टरले बचाए । तर, स्ट्रर्लिङले रिबाउन्डमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४-० को सहज जित दिलाए ।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ ।

सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ ।
वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

