एजेन्सी । युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् ।
इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सोमबार राति लाजियोविरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
घरेलु मैदानमा गरेको दुई गोलसँगै रोनाल्डोले सिरी 'ए' मा आफ्नो ५१ औं गोल पुरा गरे । यससँगै रोनाल्डो सिरी 'ए', ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् ।
रोनाल्डोले सर्वाधिक गोल भने ला लिगामा गरेका छन् । सन् २००९ देखि १८ सम्म रियल मड्रिडबाट खेल्दा रोनाल्डोले ३ सय ११ गोल गरेका हुन् । उनले २ सय ९२ खेलमा उक्त गोल गरेका हुन् ।

त्यसअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगमा ८४ गोल गरेका थिए । २००३ देखि ९ सम्म रोनाल्डोले युनाइटेडका लागि १ सय ९६ खेल खेलेका थिए ।
सन् २०१८ मा युभेन्ट्स आएका रोनाल्डोले इटालीमा मात्र ६१ खेलमा ५० गोलको आँकडा पुरा गरेका हुन् ।
रोनाल्डो सिरी 'ए' मा सर्वाधिक चाँडो ५० गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।
तर, रोनाल्डो आफ्नो कीर्तिमान भन्दा टिमले जितेकोमा खुशी छन् ।
'कीर्तिमान सधै महत्वपूर्ण हुन्छ । तर, महत्वपूर्ण कुरा टिमको जित हो,' रोनाल्डोले भने, 'हामी एक अभूतपूर्व टिम हो र हामीले त्यसलाई आज फेरि देखायौं । हामी सधै सुधार गर्न चाहन्छौं ।'
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोको प्रेरणादायी प्रदर्शनबाट युभेन्ट्स सिरी 'ए' लिगको उपाधि नजिक समेत पुगेको छ ।

शीर्ष स्थानको युभेन्ट्सले लिगमा ८० अंक जोडेको छ । र, दोस्रो स्थानको इन्टर मिलानविरुद्ध युभेन्ट्सले ८ अंकको अग्रता बनाएको छ ।
रोनाल्डो यस सिजन सिरी 'ए' को गोल्डेन बुटको दाबेदार पनि हुन् । रोनाल्डोले यस सिजन ३० गोल गरेका छन् ।
रोनाल्डोसँगै लाजियोका सिरो इम्मोबिलले समेत ३० गोल गरेका छन् ।