ईन्टर रोकियो, युभेन्ट्सलाई फाईदा

एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार राति रोमाको घरेलु मैदानमा ईन्टरले अंक बाँडेपछि शीर्ष स्थानको युभेन्ट्सलाई फाईदा पुगेको छ ।
दोस्रो स्थानको ईन्टरलाई शीर्ष स्थानको युभेन्ट्समाथि दबाब बढाउने अवसर थियो । तर पछिल्ला खेलमा ईन्टर मिलान र एटलान्टाको खस्कदो नतिजाले युभेन्ट्सलाई फाईदा पुगेको छ ।
स्टेफन डी भर्जले १५ औं मिनेटमा पाहुना टोली ईन्टरलाई अघि बढाएका थिए । लियोनार्दो स्पिनाजोलाले ४५ औं मिनेटमा खेल १–१ को बराबरीमा ल्याएका थिए ।
हेनरिख मखेरिटियनले रोमालाई ५७ औ मिनेटमा २–१ ले अघि बढाए । खेल सकिन दुई मिनेट अघि रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै ईन्टर मिलानको हार टारेका थिए ।
ईन्टर ७२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको युभेन्ट्सलाई ५ अंकको अग्रता प्राप्त छ । रोमा ५८ अंक सहित पाँचौ स्थानमा छ ।
अर्को खेलमा नापोलीले युडिनिसलाई २–१ ले हरायो ।
रोड्रिग्गो डी पाउलले पाहुना टोलीलाई दिलाएको अग्रतालाई युडिनिसले जोगाउन सकेन ।
नापोलीका अर्काडियस मिलिक र माटेओ पोलिटानोले खेलको अन्तिम मिनेटमा गोल गर्दै नापोलीलाई जित दिलाए ।
प्राप्त जितसंगै नापोली ५६ अंक सहित छैटौ स्थानमा उक्लियो । युडिनिस ३६ अंक सहित १६ औं स्थानमा रह्यो ।