लेगानेससंग च्याम्पियन रियलको बराबरी

एजेन्सी । ला लिगा च्याम्पियन रियल मड्रिडले रेलिगशेनमा परेको लेगानेससंग बराबरी खेल्दै सिजनको अन्त्य गरेको छ ।
आईतबार राति रियलले लेगानेसको घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लेगानेसले घरेलु मैदानमा यस सिजनको च्याम्पियनमाथि गार्ड अफ अनर प्रदान गरेको थियो ।
तर यस सिजनको लिग च्याम्पियन १८ औं स्थानको लेगानेसमाथि जित निकाल्न असफल रह्यो ।
इस्कोको पासमा सर्जियो रामोसले नवौं मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।
ब्रायल गिलले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
५२ औं मिनेटमा ईस्कोकै पासमा एसेन्सियोले पुन रियललाई अग्रता दिलाएका थिए । डिबक्स भित्रबाट घरेलु टोलीका रोजर असलेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
कोरोनाले पुन सुरु भएको सिजनमा रियलको लगातार १० खेलको जितमा पूर्णविराम लागेको छ । जिनेदिन जिदान नेतृत्वको टिमले कीर्तिमानी ३४ औं पटक लिग उपाधि जितेको छ ।
गत बिहिबार उसले पछिल्लो तीन बर्षमा पहिलो पटक लिग उपाधि हात पारेको थियो । रियलले ८७ अंक सहित स्पष्ट ५ अंंकको अग्रता सहित लिगको अन्त्य गर्यो ।
लेगानेस ३६ अंक सहित १८ औं स्थानमा रहदै रेलिगेशनमा पर्यो ।