इन्टरलाई अंक दुरी घटाउने मौका

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा उपाधि दाबेदार इन्टर मिलानले आज (आइतबार) रोमासँग खेल्नेछ ।
इन्टरले रोमासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल १:३० बजे सुरु हुनेछ ।
रोमाको मैदानमा इन्टर जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । यस्तै इन्टर युभेन्ट्ससँगको अग्रता घटाउन चाहन्छ ।
दोस्रो स्थानको इन्टर लिग लिडर युभेन्ट्स भन्दा ६ अंकले पछि रहेको छ । तर, रोमालाई हराएर इन्टर युभेन्ट्ससँगको अग्रता ३ अंकमा झार्न चाहन्छ ।
इन्टरले ३३ खेलमा ७१ अंक जोडेको छ । युभेन्ट्सको ७७ अंक रहेको छ ।
यता, रोमा पनि इन्टरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । ५७ अंक जोडेको रोमा पाँचौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा रोमा जित निकाल्दै शीर्ष चारको सम्भावनालाई कायम राख्न चाहन्छ ।
सिरी 'ए' अन्तर्गत नापोलीले उडिनेससँग खेल्नेछ ।
त्यस्तै पर्माले साम्पडोरिया, ब्रेसियाले एसपीएल, फियोरेन्टिनाले टोरिनो र जियोनाले लेसेसँग खेल्नेछ ।