एजेन्सी । एफए कप फुटबलको पहिलो सेमिफाइनल खेल आज (शनिबार) हुँदैछ ।
एफए कपको पहिलो सेमिफाइनलमा दुई ठुला क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
वेम्बली स्टेडियममा हुने सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
आर्सनल एफए कपमा कीर्तिमानी १३ पटकको च्याम्पियन हो । त्यसैले आर्सनल सिटीलाई हराएर एफए कपको अर्को उपाधि नजिक पुग्न चाहन्छ ।
तर, साविक विजेता सिटीलाई हराउँन आर्सनललाई सहज भने छैन । प्रिमियर लिगको उपाधिबाट बन्चित भएको सिटीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यस्तै सिटी यस सिजन पनि एफए कप जित्ने लक्ष्यमा रहेको छ । गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो ।
पछिल्लो सात भेटमा आर्सनलविरुद्ध सिटी अपराजित रहेको छ । जसको कारण सिटी उच्च मनोबलमा हुनेछ ।
आर्सनलले क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो । सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २-० ले हराएको थियो ।
सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ ।
चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो ।