एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बिहीबार) विभिन्न १० खेलहरु हुँदैछ ।
ला लिगामा बिहीबार लिग लिडर रियल मड्रिडसहित बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उपाधिसहित शीर्ष चार र रेलिगेसन क्षेत्रमा रहेका टोलीको खेल फरक समयमा हुँदा नतिजा प्रभावित हुन सक्ने भएको कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ ।
जस अन्तर्गत ला लिगामा बिहीबार १० खेल एकै समयमा हुन लागेको हो ।
उपाधिको दाबेदार क्लब रियलले भिल्ला रियलको सामना गर्दैछ । अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियल र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा हुनेछ ।
रियल घरेलु मैदानमा जित निकाल्दै उपाधि उचाल्न चाहन्छ । रियललाई उपाधिका लागि मात्र २ अंकको आवश्यकता रहेको छ ।
जसको कारण भिल्लालाई हराउँन सके रियलले एक खेल अगाबै ३४ औं पटक ला लिगाको उपाधि जित्नेछ । बराबरी र हारले अर्को खेल कुर्नुपर्ने हुन्छ ।
रियलले ३६ खेलमा ८३ अंक जोडेको छ । भिल्ला ५७ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक रहेको छ ।
बार्सिलोनाले बिहीबार राति नै ओसासुनासँग खेल्नेछ । बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै रियलमाथि दबाब दिन चाहन्छ ।
यदी बार्सिलोना पराजित भएको अवस्थामा रियल च्याम्पियन बन्नेछ ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले गेटाफेसँग खेल्दा सेभियाले रियल सोसिडाडसँग खेल्नेछ ।
त्यस्तै एथ्लेटिक बिल्बाओले लेगानेससँग खेल्दा इबरले रियल भालाडोलिडसँग खेल्नेछ ।
ला लिगामै बिहीबार सेल्टा भिगोले लेभान्टे, मालोर्काले ग्रानडा, रियल बेटिसले डिपोर्टिभो अलाभेस र भ्यालेन्सिया स्पानियोलसँग खेल्नेछ ।