एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, ५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।
त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।
लिभरपुललाई उपाधिका लागि एक जित आवश्यकता रहेको थियो ।
तर, सिटीले अंक गुमाएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।

चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ ।
सिटीको ३१ खेलमा ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ ।
सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ । चेल्सी चौंथ स्थानमा रहेको छ ।