एजेन्सी । ब्राजिलका पूर्व स्टार काकाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार बालोन डी'ओर अवार्डका लागि हकदार भएको बताएका छन् ।
ग्लोब ईस्पोर्ट्ससँग कुरा गर्दै काकाले पीएसजीबाट च्याम्पियन्स लिग जितेमा नेयमार अवार्डको हकदार हुने बताएका हुन् ।
'म विश्वास गर्छु अहिले नेयमार विश्वको उत्कृष्ट खेलाडी हुन् । चाहे उनले अवार्ड जितोस त्यो उनको टिममा भर पर्छ,' काकाले भने, 'अब लिस्बनमा हुने च्याम्पियन्स लिग हेरौं । पीएसजी च्याम्पियन बने नेयमार नायक हुने छन् ।'
यस सिजनको च्याम्पियन्स लिग पोर्चुगलको लिस्बनमा अगष्ट १२ बाट सुचारु हुनेछ । कोरोनाको कारण स्थगित च्याम्पियन्स लिगको क्वाटरफाइनलपछिका खेल लिस्बनमा हुनेछ ।
पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा पुगिसकेको छ । अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डविरुद्धको दुवै लेगमा नेयमारले गोल गरेका थिए ।
ब्राजिलियन फरवार्ड नेयमारले हालसम्म बालोन डी' ओर अवार्ड जित्न सकेका छैनन् । उनी पटक पटक अवार्डका लागि मनोनयनमा भने परेका छन् ।
'नेयमार विश्वको उत्कृष्ट खेलाडी अवार्ड जित्न योग्य छन्,' काकाले थपे ।
रियल मड्रिड र एसी मिलानका पूर्व फरवार्ड काकाले एक पटक बालोन डी' ओर अवार्ड जितेका छन् । सन् २००७ मा उनले बालोन डी' ओर जितेका थिए ।