एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बिहिबार) दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सी र सिटीबीचको खेल स्टामफोर्ड ब्रिजमा हुनेछ । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
चेल्सीको घरेलु मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । किनकि दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
सिटी चेल्सीलाई उसैको मैदानमा हराएर लिभरपुलको उपाधि पछि धकेल्न चाहन्छ ।
यस सिजन उपाधि नजिक रहेको लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ । लिग लिडर लिभरपुलको ८६ अंक रहेको छ । दोस्रो स्थानको सिटीको ६३ अंक रहेको छ ।
३० वर्षपछि उपाधिको संघारमा रहेको लिभरपुललाई च्याम्पियन बन्न २ अंकको आवश्यकता रहेको छ ।
यस्तोमा बिहिबार चेल्सीविरुद्ध सिटीले जित निकाल्न नसके लिभरपुल च्याम्पियन बन्नेछ । त्यसैले सिटी जसरी पनि चेल्सीलाई हराउँन चाहन्छ ।
तर, मुख्य स्ट्राइकर सर्जियो अग्युरो बिनाको सिटीलाई घरेलु टोलीलाई हराउँन कठिन भने हुनेछ । अग्युरो घुँडाको शल्यक्रियाको कारण टिम बाहिर रहेका छन् ।
यट, चेल्सी घरेलु मैदानमा जित निकाल्दै तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी कम गर्न चाहन्छ । चौंथो स्थानको चेल्सीको ५१ अंक रहेको छ । लेष्टरको ५५ अंक रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै बिहिबार आर्सनलले साउथह्याम्पटनसँग खेल्नेछ ।
यस्तै बर्नलीले वाट्फोर्डको सामना गर्नेछ ।