एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले प्रिमियर लिगको उपाधिका लागि क्लबले प्रतिक्षा गरेको ३० वर्षको समय सकिने उपयुक्त बेला आएको बताएका छन् ।
सलाहको गोलसंगै लिभरपुलले बुधबार क्रिस्टल प्यालेसलाई ४–० ले हराएको थियो । जितसंगै लिभरपुल उपाधि हात पार्न मात्र दुई अंकले पछाडी रहेको छ ।
बिहिबारको खेलमा म्यान्चेष्टर सिटीले लण्डन क्लब चेल्सीबिरुद्ध जित निकाल्न नसकेको अवस्थामा लिभरपुलले उपाधि हात पार्नेछ ।
'लिग जित्न दुई अंक मात्र चाहिएको छ । यो निकै राम्रो छ ।' सलाहले भनेका छन् ।
'म यहाँ आएदेखि प्रिमियर लिग जित्न चाहेको बताएको छु । लिभरपुलले लामो समयदेखि उपाधि जित्न सकेको थिएन ।' उनले थपे ।
'गत बर्ष हाम्रा लागि अवसर थियो । तर सिटीले निकै राम्रो खेल्यो र उनीहरु त्यसका लायक थिए । यो पटक हाम्रो समय हो, लिग उपाधि जित्नका लागि ।' उनले भने ।

लिभरपुलले सन् १९८९–९० मा पछिल्लो पटक शीर्ष डिभिजनको लिग जितेको थियो । पछिल्लो तीन दशकमा लिभरपुलले पुन शीर्ष डिभिजनको लिग जित्न सकेन ।
योर्गेन क्लोप नेतृत्वको लिभपुलले गत सिजन कीर्तिमानी ९७ अंक बटुलेपनि उपाधिबाट बिमुख बन्यो । एक अंकले पेप ग्वार्डीओला नेतृत्वको सिटीले लिभरपुलसंग उपाधि खोसेको थियो ।
यस सिजन लिभरपुल उत्कृष्ट लयमा देखिएको छ । कोरोना भाईरसका कारण सिजन अबरुद्ध हुदाँ लिभरपुलको उपाधि यात्रा केही ढिला हुन गयो ।
अबरुद्ध सिजन सुरु भएपछि पहिलो खेलमा लिभरपुलले एभर्टनसंग बराबरी खेलेको थियो भने क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
'बुधबारको रातमा ठुलो कदम चालिएको छ । यो स्पष्ट छ ।' लिभपुलका प्रशिक्षक क्लोपले भनेका छन्, 'हामीले अझै ७ चरणको खेल खेल्न बाँकी छ । हामीले यसरीनै खेल्यो भने हाम्रोबिरुद्ध खेल्न राम्रो हुने छैन ।'


लिभरपुलले बुधबार क्रिस्टल प्यालेसबिरुद्ध उत्कृष्ट प्रर्दशन गर्यो । चार गोल गर्नुका साथै गोलका धेरै अवसर गुमायो ।
अलेक्सजेन्डर अर्नोल्डले लिभपुललाई दिलाएको अग्रतामा सलाह, फाबिन्हो र साडियो मानेले गोल गरेका थिए ।
'यो निकै उत्कृष्ट खेल थियो ।' क्लोपले भने, 'जसरी उनीहरुले खेले । जुन भाव हामीले देखायौ, यो असाधारण थियो । यस्तो क्षणलाई विश्वास गर्न गाह्रो हुन्छ ।'