एजेन्सी । सिरि ए फुटबलको उपाधि होडमा रहेका लाजियो र ईन्टर मिलानलाई धक्का लागेको छ ।
बुधबार राति भएको खेलमा लाजियोले एटलान्टासंग हार ब्यहोर्दा ईन्टर मिलान र सासुलोसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
लिगको दोस्रो र तेस्रो स्थानको क्लबले अंक गुमाउन परेपछि शीर्ष स्थानको युभेन्ट्सलाई फाईदा पुगेको छ ।
दोस्रो स्थानमा रहेको लाजियोले एटलान्टाको घरेलु मैदानमा ३–२ को हार ब्यहोर्यो । सुरुवाती ११ मिनेटमा २–० को अग्रता लिएपनि लाजियोले त्यसलाई जोगाउन सकेन । खेलको सुरुवातमै मार्टेन डे रुनको आत्मघाति गोल गरेपछि लाजियो खेलमा अघि बढेको थियो । सर्जेज मिलिन्कोभिक सेविकको ११ औं मिनेटमा लाजियोको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि घरेलु टोली एटलान्टाले लगातार तीन गोल फर्काएको थियो । रोबिन गोसेन्स, रुस्लान मालिनोब्स्की र जोसे लुईस पालोमिनोले लगातार तीन गोल गर्दै एटलान्टालाई जित दिलाउन सफल भएका थिए ।

हारको नतिजासंगै दोस्रो स्थानको लाजियोको ६२ अंक रह्यो । शीर्ष स्थानको युभेन्ट्स भन्दा लाजियो ४ अंकले पछाडी रह्यो । लाजियोले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी १ अंकमा झार्ने मौका गुमाएको हो । एटलान्टा ५४ अंक जोड्दै तालिकाको चौथो स्थानमा आफुलाई मजबुद बनाएको छ ।
अर्को खेलमा ईन्टर मिलान र सासुलोले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । ईन्टरका रोमेलु लुकाकु, क्रिस्टियानो बिरागी र बोर्जा भालेरोले गोल गरेका थिए । सासुलोका फ्रान्सेस्को क्यापुटो, डोमिनिको बेराडी र जियानियाकोमो म्याग्रीले समान एक एक गोल गरेका थिए ।
बराबरीको नतिजसंगै ईन्टर ५८ अंक सहित तेस्रो स्थानमा यथावत रह्यो । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछाडी रह्यो । सासुलो ३३ अंक सहित १२ औं स्थानमा छ ।