एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का डिफेन्डर थोमस मुनियर बोरुसिया डर्टमण्ड जाने भएका छन् ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी मुनियरको पीएसजीसंग यसै महिना सम्झौता सकिदैछ । उनी नयाँ गन्तव्यको रुपमा बोरुसिया डर्टमण्डसंग अनुबन्धको नजिक देखिएका हुन् ।
उनी फ्रि–ट्रान्सफर अन्तर्गत जर्मन क्लब जान लागेका हुन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड र टोटेनहमले समेत मुनियर अनुबन्धनमा चासो राखेका थिए ।
टोटेनहम लामो समयदेखि बेल्जियमका डिफेन्डरको प्रतिक्षा गरिरहेको थियो । पछिल्लो समय चेल्सी र युनाईटेडले मुनियर अनुबन्धनमा चासो राखेका थिए । तर पीएसजी डिफेन्डरले डर्टमण्ड क्लबसंग चार बर्षको सम्झौता गर्ने तयारी गरेका छन् ।
कोरोना भाईरसले सिजन अबरुद्ध बनेपछि पीएसजीलाई लिग च्याम्पियन घोषणा गर्दै यस सिजनको लिग वान रद्ध गरिएको थियो ।
मुनियरले सिजनको अन्तिमसम्म रहने अल्पकालिन सम्झौताको विकल्पलाई समाप्त गर्दै डर्टमण्ड जाने मन बनाएका हुन् ।

घरेलु लिग रद्ध भएपनि पीएसजीले च्याम्पियन्स लिगको अन्तिम चरणको खेल खेल्न बाँकी छ ।
कोरोनाले च्याम्पियन्स लिग अबरुद्ध हुनु अघि अन्तिम १६ को दोस्रो लेगमा जित निकाल्दै पीएसजी क्वार्टरफाईनल प्रवेश गरेको छ । च्याम्पियन्स लिगको बाँकी सिजन अगष्टमा सक्ने तय गरिएको छ ।
पीएसजीबाट यस सिजन ईडिन्सन काभानी सहित डियागो सिल्भाले समेत क्लब छाड्न लागेका छन् । २८ बर्षिया अनुभवी डिफेन्डर मुनियर समेत सो सूचिमा थपिएका छन् ।
मुनियरले चार सिजन लिग वानमा बिताए । उनले चार बर्षमा तीन पटक लिग उपाधि जिते । उनले सबै प्रतियोगितामा पीएसजीबाट १ सय २८ खेलमा प्रतिस्पर्धा गरे ।
डर्टमण्डले बुन्डेसलिगाको अन्तिम खेलमा शनिबार होफेनहमसंग प्रतिस्पर्धा गर्दैछ ।