एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक रहेको लिभरपुल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको मर्सीसाइड डर्बी भिडन्त लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एभर्टनको मैदान गुडिसन पार्कमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिग लिडर लिभरपुल जितबाट बन्चित बनेको हो ।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले घरेलु टोलीको डिफेन्स र गोललाइन तोड्न सकेन।
मोहमद सलाहबिना मैदान उत्रिएको लिभरपुलको केहि राम्रो प्रहार एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए ।

घरेलु टोलीले समेत केहि गोलको राम्रो अवसर खेर फालेको थियो ।
घरेलु टोलीसँगको बराबरीसँगै लिभरपुललाई उपाधि जित्न थप समय कुर्नुपर्ने भएको छ ।
उपाधि जित्नका लागि लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ ।
लिभरपुल ३० वर्षपछि पहिलो पटक लिगको उपाधि जित्ने संघारमा रहेको छ ।

एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ । सिटीको ६० अंक रहेको छ ।
३८ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।
