एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा न्युकासलले १० खेलाडीमा सिमित सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा न्युकासललाई जित दिलाउन एलेन म्याक्सिमिन, माट रिट्ची र जोलिनटनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ५५ औं मिनेटमा म्याक्सिमिनले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको ५० औं मिनेटमा जोन इगानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा सेफिल्ड १० खेलाडीमा समेटिएको थियो ।
खेलको ६९ औं मिनेटमा रिट्चीले गोल गर्दा न्युकासलको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई ३-० को जित दिलाए ।
जितसँगै न्युकासलले ३० खेलमा ३८ अंक जोडेको छ । न्युकासल लिगको १२ औं स्थानमा रहेको छ ।
४४ अंक जोडेको सेफिल्ड सातौं स्थानमा रहेको छ ।
