एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) उपाधि दाबेदार रियल मड्रिडले रियल सोसीडाडसँग खेल्दैछ ।
बलियो टिम रियलले सोसीडाडसँग उसैको मैदानमा खेल्नेछ । रियल र सोसीडाडबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा रियल सहज जितको खोजीमा हुनेछ । जितसँगै रियल शीर्ष स्थानको बार्सिलोनामाथिको दबाब कायम राख्न चाहन्छ ।
लिगको दोस्रो स्थानको रियल बार्सिलोना भन्दा ३ अंकले पछि रहेको छ । सोसीडाडलाई पराजित गरे रियलले बार्सिलोनासँगको अंक बराबरी गर्नेछ ।
शुक्रबार राति बार्सिलोनाले सेभियासँग बराबरी खेलेपछि रियललाई फाइदा भएको हो ।
रियलले २९ खेलमा ६२ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६५ अंक रहेको छ ।
४७ अंक जोडेको सोसीडाड छैटौं स्थानमा रहेको छ । घरेलु मैदानमा रियललाई पराजित गर्दै सोसीडाड पाँचौं स्थानमा उक्लन चाहन्छ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा भ्यालेन्सिया र ओसासुना तथा सेल्टा भिगो र डिपोर्टीभो अल्भेसबीच खेल हुनेछ ।